काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । लामिछानेलाई राहदानी दुरुपयोगको घटनामा गैरकानुनी रूपमा उन्मुक्ति दिइएको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट परेको थियो । सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको हो । सिन्हाको झ नम्बरमा लामिछानेको मुद्दा रहेको छ ।
अधिवक्ता युवराज सफलले उक्त प्रकरणमा पर्याप्त अनुसन्धान नगरी महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको जिकिरसहित आइतबार रिट निवेदन दर्ता गरेका हुन् । लामिछानेले झुटो विवरण दिएर नेपाली राहदानी प्राप्त गरेकाले राहदानी दुरुपयोगयुक्त कसुरजन्य र दण्डनीय कार्य गरेको दाबी सफलले गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ताको उक्त निर्णयपछि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेविरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन ।