उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

राष्ट्रपाटी न्युज

२३ चैत्र २०७९

काठमाडौं । तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
गत मंसिर ४ को चुनावमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो ।
उपनिर्वाचनका सोमवार उम्मेदवारी दर्ता भइसकेको छ । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको जनाउँदै आयोगले त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ भने मतदान २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।


Published :२३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media