फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै मेयर बालेन आक्रोशित

राष्ट्रपाटी न्युज

चैत्र २४, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भएका छन् ।

फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाह प्रहरीमाथि आक्रोशित भएका हुन् । महानगरपालिकाभित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्वीर पनि उनले सार्वजनिक गरेका छन् ।

‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ’, उनले फेसबुकमा भनेका छन्  , ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला, नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

मेयर शाहले फुटपाथ मिचेर संरचना बनाएको भन्दै बिभिन्न देशका राजदूतावासलाई पनि पत्राचार गरेको बताएका छन् । ‘राजदुतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ,’ उनले भनेका छन्, ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’


Published :चैत्र २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media