धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संकटग्रस्त बनेको दाबी गरेका छन् ।
आइतबार उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र एमालेले मात्र सुधार गर्न सक्ने दाबी गरे ।
देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताए । यस क्षेत्रको बिकास गर्न तीनै तहका सरकारले बिशेष सहयोग गर्नु पर्ने बताएका छन् ।
यस्तै अध्यक्ष ओलीले आफुले पहिलो पटक धादिङको रुविभ्यालीमा पाइला टेकेको बताए ।
अध्यक्ष ओलीले रुविभ्यालीमा पाइने रुवि ढुंगा, सिलाजित लगायतका बहुमूल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको बताए ।
धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकप्टरमार्फत आइपुग्नु भएका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरुको पनि अवलोकन गरेका थिए ।