भ्रष्टाचार प्रमाणित भए कडा कारबाही हुन्छः रास्वपा सभापति लामिछाने

राष्ट्रपाटी न्युज

२७ चैत्र २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको बताएका छन् । उनले भ्रष्टाचार प्रमाणित भए दण्डित गर्ने बताएका छन् ।

सभापति लामिछानेले ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताए । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले त्यही अडियोलाई चुनावी हतियार बनाउन खोजिएको भन्दै  सामाजिक सन्जालमा लेखेका छन्, ‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदैछ ।’

रविले पैसाको लेनदेन हुनु त परेको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं । कडाभन्दा कडा कारबाही गर्छौं । बेथितिको बचाउ गर्दैनौं । बरु उदाङ्दो पारी दण्डित गर्छौं । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ ।’

लामिछानेले लेखेका छन्, ‘…आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’


Published :२७ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media