काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बोलाइएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।
बैठक आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ।
रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण दिइसकेका छन् ।
स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन् । उनले अडियो सम्पादन भएर आएको जिकिर गरे पनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताइएको छ ।