सरकारको नेतृत्व फेरि कांग्रेसले लिने सभापति देउवाको दाबी

राष्ट्रपाटी न्युज

२८ चैत्र २०७९

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे ।

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढनु परेको पनि दोहो-याए ।

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरेपनि उनीहरुको हितमा धेरै काम गर्न नसकेको उनको स्विकारोक्ति थियो ।


Published :२८ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media