नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज, त्रिपक्षीय प्रतिस्पर्धा

राष्ट्रपाटी न्युज

चैत्र २९, २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य  महासंघको निर्वाचन आज (बुधबार) हुने भएको छ। महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष (तीन वर्षपछि अध्यक्ष) बन्न त्रिपक्षीय भिडन्त हुन लागेको हो ।

महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् ।

५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन् ।

संघाईको पक्षमा वर्तमान अध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारका छन् । मारवाडी समुदायको भोट संघईको पक्षमा जाने देखिन्छ ।
उमेशलाल श्रेष्ठको पक्षमा पूर्वअध्यक्षहरू चन्डीराज ढकाल, विनोद श्रेष्ठ, सुरज वैज्ञ, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार छन् । सातै प्रदेशका अध्यक्ष पनि उमेशकै पक्षमा देखिएका छन् । इन्द्रभक्त श्रेष्ठले पनि उमेशलाई समर्थन गर्ने बुझिएको छ । उनका आफन्त एक जना उमेशकै टिमबाट उम्मेदवार बनेका छन् ।

भावी अध्यक्ष ढकाल भने कुनै पक्षमा खुलेका छैनन् । कसैको पनि चुनावी सभामा गएका छैनन् । उनले सर्वसम्मत नेतृत्व छनोटका लागि तीन जना उम्मेदवारसँग छलफल गरे । तर, उनको प्रयास सफल हुन सकेन । अञ्जन श्रेष्ठको पक्षमा कुशकुमार जोशी, आनन्दराज मुल्मी, महेशलाल प्रधान छन् । भवानी राणा, प्रदीपजंग पाण्डे, सौरभ ज्योति कुनै उम्मेदवारप्रति नखुलेको बताइन्छ ।

एसोसिएटतर्फ १९ जनामा उमेशको १३, संघईको ११ र अञ्जनको ६ जनाले उम्मेदवारी दिएका छन्। जिल्ला नगरतर्फ १८ जना उम्मेदवारमध्ये उमेशले १८ जना र अञ्जनले १२ जना उम्म्मेदवार उठाएका छन् । वस्तुगततर्फ पनि उमेश र अञ्जनको १४-१४ उम्मेदवारले उम्मेदवारी दिएका छन्। उमेश र अञ्जनको छुट्टाछुट्टै प्यानलबाट चुनावी प्रतिस्पर्धा गरे पनि भरतराज आचार्य साझा उम्मेदवार भएका छन् ।

वरिष्ठ उपाध्यक्षसँगै बिहीबार ६६ सदस्यीय कार्यसमितिको निर्वाचन हुनेछ। वस्तुगत संघमा १४ सदस्यका लागि २८ जना, उद्योग वाणिज्य संघतर्फ १८ का लागि ३२ जना र एसोसिएटतर्फ १९ का लागि ३० जनाको उम्मेदवारी परेको छ ।


Published :चैत्र २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media