चीनले पाँच वर्षभित्र चन्द्रमामा घर निर्माण गर्ने

राष्ट्रपाटी न्युज

३० चैत्र २०७९

काठमाडौँ । चीनले अबको पाँच वर्षभित्र चन्द्रमामा त्यहीँको माटोबाट इँटा बनाएर घर बनाउने योजना सार्वजनिक गरेको छ ।

चन्द्रमाकै माटो उपयोग गरी इँटा बनाएर घरहरू निर्माण गर्ने योजना रहेको चिनियाँ वैज्ञानिकहरूले साउथ चाइना मर्निङ पोष्टलाई बताएका हुन् । हृवाचोङ विश्वविद्यालयका शीर्ष वैज्ञानिक तिङ लियुनले सन् २०२८ मा छाङई मिसनको बेलामा पहिलो इँटा बनाइने बताएका छन् ।

चन्द्रमामा बसाइने बस्ती आणविक ऊर्जाबाट चल्नसक्ने भनी चीनले यसअघि बताएको थियो । छाङई ६, ७ र ८ मिसनले ल्यान्डर, हपर, अर्बिटर र रोभर पनि बनाउनेछ ।

‘पृथ्वीबाहेकका स्थानमा पनि मानव बस्ती बसाउनु अन्तरिक्षको खोज गर्ने मानवताको चाहनाबमोजिमकै काम हो, अनि अन्तरिक्ष शक्तिका रूपमा चीनको रणनीतिक आवश्यकतालाई यसले प्रतिनिधित्व गर्छ,’ तिङले चाइना साइन्स डेलीलाई बताएका छन् ।

चन्द्रमामा मानवसहितको अखडा बनाउने विषयमा वुहानमा ठूलो सम्मेलन हुन लागेको पूर्वसन्ध्यामा तिङको भनाइ आएको हो । चीनले यसअघि नै चन्द्रमामा खोजीका लागि प्रोबहरू पठाइसकेको छ । उसले आफ्नै अन्तरिक्ष स्टेशनसमेत बनाइसकेको छ । मंगलग्रहमा पनि उसले अध्ययन गरिरहेको छ । पृथ्वीबाहेक अन्य ग्रहमा रहेका खनिज तथा अन्य प्राकृतिक स्रोतमा पहिलो पहुँचका लागि चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । (एजेन्सी)


Published :३० चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media