काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्न सुझाव दिएका छन् । उनले सिंहदरबारलाई अन्तै सारे काठमाडौंवासीलाई कुनै आपत्ति नहुने बताएका छन् ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवसीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’
उनले सम्पदा, संस्कृति, कला र सभ्यतामाथि राजनीति नहुने बताएका छन् । महानगरभित्रका अवैध संरचना हटाउन केन्द्र सरकारले सहयोग नगरेकोमा रुष्ट भएका मेयर शाहले सिंहदरबार, राष्ट्रपति कार्यालयलगायत क्षेत्रको फोहोर उठाउन बन्द गरेका छन् ।
उनले सरकारको सहयोगबिना काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसकिने बताउँदै आएका छन् । केही दिनअघि उनले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै जिम्मेवार भएर काम गर्न सरकारले सचेत गराएको छ ।
चैत २८ गते बसेको मन्त्रिपरिषद बैठकले मेयर शाहलाई काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर सचेत गराउने निर्णय गरेको थियो ।