काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजो (शनिबार) पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुखद् घटनाबारे संसदमा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् । त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाई थियो । सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताइन् ।
सांसद भट्टराईले सरकारले विगतमा पनि आफूहरुले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।