प्रधानमन्त्रीसँग वार्ता गर्ने मिटरब्याजपीडितको अडान, गृहमन्त्रीको चर्को विरोध

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८०

काठमाडौं । मिटरब्याजी पीडितले प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने जनाएका छन्। मिटरब्याजी पिडितहरुले शान्तिबाटिकामा आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को विरोध गरेका हुन् ।

आफ्ना माग पूरा गर्नका लागि दबाब दिँदै आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले जति दमन गरे पनि माग पूरा नभई घर नफर्किने बताए। मिटरब्याज तथा ठगीविरुद्ध आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अमानवीय क्रुर दमन गरेको भन्दै उनीहरु आपत्ति जनाए । ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’, ‘मजदूर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद’ जस्ता प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

सोमबार शान्तिबाटिकाभित्र धर्ना बस्दै आएका मिटरब्याजी पीडित भद्रकाली जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपमा मिटरब्याज पीडित  घाइते भएका थिए ।

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्तामा सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो । वार्ता भंग भएपछि उनीहरू काठमाडौंको शान्तिबाटिकामा निरन्तर धर्ना दिँदै आएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेको छ ।

मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् । चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरुको काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।


Published :बैशाख ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media