काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाएका छन् ।
गृहमन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताए । उनले सुरक्षा निकायमा हुने विचौलियाको भुमिकालाई शुन्यमा झारिने बताए । उनले राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउनेगरी काम गरिरहेको बताए । उनले सुरक्षा निकायमा काम गर्नेहरुको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै दबाबरहीत प्रणाली स्थापित गर्नुपर्ने बताए । उनले निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने बताए ।
मन्त्री श्रेष्ठले देशका सबै वास्तविक नागरिकहरुले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटो भन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको स्पष्ट पारे । उनले संविधानले नागरिक हक प्रदान गरेको तर संविधानले नै ऐन बनाएर मात्रै नागरिकता उपलब्ध गराउने कुरा उल्लेख गरेकाले ऐन निर्माणका प्रक्रिया शुरु भइसकेको र छिटै वास्तविक नागरिकले नागरिकता पाउने बताए । उनले नागरिकताको विषय संवेदनशील भएकाले राष्ट्रिय सहमतिको पहल भइरहेको पनि बताए । उनले संविधानले नै नागरिकता पाउनुपर्छ भनेकाहरुको हकमा नागरिकताबाट वञ्चित गर्ने काम अब नहुने जिकिर गरे ।
मन्त्री श्रेष्ठले मिटरब्याजबाट पीडितहरुको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग बनाएको उल्लेख गर्दै आयोगले नै अब सबै पीडितहरुका समस्या समाधान गर्ने बताए ।
मन्त्री श्रेष्ठले आम जनताले निर्वाध रुपमा अमनचयन पाउने कुराको सुनिश्चित गर्न चाहेको बताए । उनले महिला हिंसाको प्रभावकारी नियन्त्रण र हिंसा गर्ने पीडकलाई तत्काल कानूनको कठघरामा ल्याइ दण्डित गर्ने पक्षमा आफू लाग्ने प्रतिवद्धता जनाए । लागुपदार्थ दुव्र्यसनीको मात्रा बढेको र दलितमाथिको उत्पीडनका घटनाहरु बढ्दै गएको भन्दै त्यसको नियन्त्रणमा लाग्ने पनि बताए । उनले सरकारले जेल सुधार अभियान सञ्चालन गर्नेपनि बताए । राष्ट्रिय परिचयपत्रको आवश्यक्तालाई पुष्टि गर्ने गरी काम अघि बढाउने पनि बताए ।