काठमाडौं । कुशल मल्लको विस्फोटक शतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानलाई ८४ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले आठ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो ।
खराब सुरुआत गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै ५०औं एकदिवसीयमा पहिलो पटक तीन सयभन्दा ठूलो योगफल तयार पार्यो ।
यसअघि नेपालले मार्च ९ मा पपुवा न्युगिनीविरुद्ध दुई सय ९७ रनको कीर्तिमानी योगफल बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २६ रन मात्रै बनाउन सक्यो ।
पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ ।