भ्रष्टाचार छानबिन गर्ने हो भने सबै नेता जेल जाने विप्लवको दाबी

राष्ट्रपाटी न्युज

१० बैशाख २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् ।

आईतवार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशमा भ्रष्टाचारको समस्या रहेको बताए । उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्नेखालको मानक बनेको बताए ।

उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए । महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै नेता जेल जाने बताए । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नभएको उनले बताए । उनले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए ।

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।


Published :१० बैशाख २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media