विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । बिहीबार विराटनगर आएका अर्थमन्त्री महतले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले भने,’ तपाईंहरू राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं,मलाई विश्वास छ यहाँहरूले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’
मन्त्री डा. महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने भन्दै आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुपर्ने बताए ।
यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको बताए। । राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।
मन्त्री डा. महतले भने,’ समग्रमा हामी पारदर्शीताका साथ काम गरौं, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौं,नियम कानुनअनुसार काम गरौं हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं।’