काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढुंगा हान्नेहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पार्टीका कार्यकर्ता रहेको दाबी गरेका छन् । झापामा आयोजित कार्यक्रममा उनले ड्युटीमा रहेका प्रहरीको टाउको फुटाउनेलाई आतंककारीको संज्ञा दिए ।
अध्यक्ष ओलीले भने, ‘मलाई ढुंगा हान्ने माधव नेपाल र प्रचण्डका पार्टीको संलग्नता देखियो । ढुंगामुढा गर्ने, ज्यान मार्ने उद्योग गर्ने, एकजना इन्सपेक्टरको टाउकोमा १७ टाँका लाग्यो । के गल्ती गरेका थिए, इन्सपेक्टरले ? आफ्नो ड्युटीमा खटिएका थिए । के गल्ती थियो उनीहरूको ?’
अर्का एक जना हवलदारको हड्डी भाँच्चिएको भन्दै उनले सरकारको व्यवहारमाथि प्रश्न गरे । उनले भने, ‘त्यस्तो ढुंगाको राजनीति, ढुंगे युगको राजनीति, ती मान्छेहरूलाई समाउँदा प्रचण्डका मान्छे, माकुनेका मान्छे कुदेर पुगे त्यहाँ, यिनीहरुले विरोध गर्या हो छोडदिनुस्, उनीहरूलाई भेटेर हामी छुटाउँछौं, चिन्ता गर्नुपर्दैन । बहादुर रहेछौं, ठोक्यौं । हामी छुटाउँछौं ।
राजनीतिक दलले जे पनि गर्न पाउँदैन, जवाफ दिनुपर्छ।’
उनले केही भए आफूसँग राख्न आग्रह गरे । उनले भने, ‘कुरै छ भने मसँग आओस् कुरा गर्न । कालो मोसो भन्या छन् । कालो झन्डा भन्या छन् । हेर्नै मन छ भने आफ्नै घरमा राखेर हेरोस् न बिहान बेलुका । अर्कालाई किन खोजिरहनु ? रुमाल पनि कालो राखेर हेरे भो ।’