काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माइतीघर मण्डला पुगेका छन् ।
शुक्रवार देखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रिएका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डला पुगेका हुन् । हिजो रातभर माइतीघर मण्डलामा सुतेर पुनले प्रदर्शन गरेका थिए ।
आफनो माग सम्बोधन नभएसम्मका लागि माइतीघर मण्डलामा नै रहने पुनले जनाउँदै आएका छन् । ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रातभर सुतेर उठ्यौँ, जनताहरु सुतिरहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनुहोस्,’ पुनले शनिबार बिहान भने, ‘के त होला र केही चिन्ता छैन, हदै भए यही नेपाल ता जाला, पृथ्वी ता रहिरहन्छ नि।’
आविस्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रिएका हुन् ।
गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा उत्रिएका छन् ।
उनले माग पुरा नहुँदासम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गरेका छन् ।