निरन्तर आक्रमण गर्दा पनि सरकार मूकदर्शक बन्योः ओली

राष्ट्रपाटी न्युज

१७ बैशाख २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मुकदर्शक बनेको बताएका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरुमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरुले ढुंगामुढा गरेको पनि बताए । हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काही ढुंगा हान्ने, काही भिडन्त गर्न आउने तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उनको भनाई थियो ।

ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरुले आफूमाथि आक्रमण प्रयास गरे पनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाए । उनले वर्तमान गठबन्धन सरकारले मुखले जेसुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाए । आफूहरुमाथि गाली बेइज्जति, अश्लिल शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताए ।

त्यस अवसरमा ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गरे । स्वार्थी तत्व र बिकाउ मालहरु, अपराध कर्ममा लागेकाहरुले मात्रै राजतन्त्रलाई मान्ने उनको आरोप थियो ।

अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरुले सच्याएको दावी गरे । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतीलाई खारेज गरेर आफूहरुले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो । उनले महाकाली सन्धिलाई सच्याउने काम आफूहरुले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरुले पछि बुझ्दै जाने बताए ।

अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरिएको सम्झौंतालाई होइन भनेर नेपाली जनतालाई ढाँट्ने काम गरेपछि त्यसलाई सच्याउने काम आफूहरुले गर्नुपरेको समेत बताए ।


Published :१७ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media