काठमाडौं । नेपालमा अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई पानी परिरहेको हो ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौंमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताए । आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।
यो क्रम बुधवारसम्म नै रहने अनुमान गरिएको छ भने भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले बुधबारसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिए ।
पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ । यसले तराईका जिल्लामा गर्मी कम भएको छ। काठमाडौंमा भने चिसो बढेको छ ।