रास्वपा सरकारमा आए भ्रष्टाचारको जुनसुकै फाइल खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

राष्ट्रपाटी न्युज

१८ बैशाख २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आह्वान गरेका छन्  ।

सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा आउन आह्वान गरेका हुन् ।

उनले रास्वपा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताए । ‘तपाइँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको उनको भनाइ छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको बताए ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन । त्यो झुठो कुरा हो,’ प्रचण्डले भने । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्व राजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भने ।

यस्तै उनले सरकार पाँचै वर्ष टिक्नेमा शंका नगर्न आग्रह गरे ।

‘सरकार ढल्छ भन्ने कुरा भ्रम हो । तपाईं नोट गर्नुहोला, सरकार यताउति हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो । यो सरकार पाँचै वर्ष चल्छ,’उनले पत्रकारको प्रश्नमा जवाफ दिए ।


Published :१८ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media