काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन आतुर देखिएका छन् । गठबन्धनलाई पाँच वर्ष टिकाउन र सरकारका काम कारबाहीलाई द्रूत गतिमा अगाडि बढाउन लामिछानेको पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्ड तयार भएका हुन् ।
माओवादी स्रोतका अनुसार आइतबार लामिछानेसँग प्रधानमन्त्रीले यही विषयमा छलफल गरेका थिए । लामिछानेले साविककै मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका छन् । लामिछानेलाई गृहमा ल्याउँदा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठलाई के गर्ने भन्ने विषयमा प्रचण्ड चिन्तित बनेका हुन् ।
यता रास्वपा साविकको मन्त्रालय पाए सरकारमा जाने संकेत गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा जाने/नजाने विषयमा शुक्रबार टुंगो लगाउने निर्णय गरेको छ ।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री प्रचण्डले रास्वपालाई साविकका मन्त्रालय दिन तयार रहेको र सरकारको नीति तथा कार्यक्रम परिमार्जनमा सकारात्मक रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले पार्टी सभापति लामिछानेसँगको भेटमा साविकको मन्त्रालय र सरकारको न्यूनतम साझा कार्यक्रम संशोधन गर्न तयार भएको बताएको ढकालले पत्रकारहरुलाई बताए ।
यद्यपि प्रधानमन्त्री प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा सरकारको नीति तथा कार्यक्रममा रास्वपाले भनेको बुँदा जायज भए सामेल गर्न सरकार र गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताए । प्रचण्डले सरकारले भष्ट्राचारको फाइल खोल्न आफू तयार रहेको बताए । रास्वपाले भष्ट्राचारको फाइल खोल्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ अघि सारेको छ।
यसअघि रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय पाएको थियो । त्यस्तै स्वास्थ्य राज्यमन्त्री पाएको थियो । हालः गृहमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री जनता समाजवादी पार्टीका अशोक राई, श्रममन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी छन् ।