“सरकारले व्यवसायीको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प छैन”

राष्ट्रपाटी न्युज

२१ बैशाख २०८०

काठमाठौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

उद्योगी, व्यवसायीहरुले चर्को व्याजदरका कारण आफूहरु मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यवसायिक वातावरण निर्माण गरी उनीहरुको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराउनु भएको हो ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रोजगारी सृजना, आयात प्रतिस्थापन गरी निर्यात हुने बस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोडने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता ठूला र अग्रणी संस्थाहरुले विशेष भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीहरुले भोग्नु परेका समस्याहरु समाधानका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण पनि गराउनु भयो ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले ग्रिलजन्य सामग्रीहरुको उत्पादनमा मुलुकलाई करिव आत्मनिर्भर बनाउने काम गरेको चर्चा गर्दै ग्रिल व्यवसायीहरुको भविष्य झनै राम्रो रहेको बताउनु भयो ।


Published :२१ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media