भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रपाटी न्युज

२२ बैशाख २०८०

काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् ।

पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको छ ।

केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातमा नगद डिपोजिट गरेको बयान दिएका छन् । पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार छन् ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर-१० को पूर्व अध्यक्ष हुन् । सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए । वैशाख २० मा सचिव टेकनारायण पाण्डे र वैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई पक्राउ परेका हुन् ।

आरोपीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।


Published :२२ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media