भक्तपुर । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकिर समेत गरे ।
रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए ।
उनले कम्फटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे । अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए । राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो ।
अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए । थुप्रिएर रहेको पूँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाइ थियो ।