काठमाडौं । प्रतिनिधिसभा सांसद पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नौलो नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले गत भदौ २२ गते राष्ट्रियसभा बैठकमा नेकपा एमाले सांसद पार्वती राउतले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बताए ।
उनले नक्कली भुटानी शरणार्थीको विषय नौलो नभएको भन्दै गत भदौ २२ गते राष्ट्रियसभा बैठकमा नेकपा एमाले सांसद पार्वती राउतले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको तर कतैबाट सुनुवाइ नभएको बताए ।
उनले जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार,अनियमिततामाथि कडा छानबिन हुनुपर्ने माग गरे ।
सांसद गिरीले प्रधानमन्त्री ‘प्रचण्डले’ नक्कली भुटानी शरणार्थी प्रकरणमा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए । प्रधानमन्त्री प्रचण्डले शनिबार एक कार्यक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउ परेको भन्दै यो टेलर मात्रै भएको र फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।
उनले प्रधानमन्त्रीले यो ट्रेलर मात्र हो फिल्म त आउन बाँकी रहेको छ भनेकाले आफूहरु फिल्म हेर्न तयार भएर बसेको र फिल्म चाँडै देखाउन सुझाव दिए ।
उनले वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, मातातिर्थ जग्गा घोटाला, बालमन्दिर जग्गा घोटाला, यति काण्ड, ओम्नी काण्डजस्ता विषयमा गम्भीर छलफल हुनुपर्ने बताए ।