काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै दबाबविना भ्रष्टाचारका विरुद्ध राज्य लाग्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा शर्माले दबाबलाई पन्छाएर नक्कली भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्ने बताए । उनले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी बच्न नहुने बताए । शर्माले भ्रष्टाचारको छानबिनका लागि कुनै हदम्याद राख्न नहुने धारणा राखे।
त्यस्तै उनले मुलुकको अहिलेको व्यवस्थाले मुलुकमा विदेशी लगानी भित्राउन नसकिने जिकिर गरे । गैरआवासीय नेपालीको नागरिकताको विषयलाई अड्काएर राखिएका कारण पनि लगानीमा समस्या हुन सक्ने उनले बताए ।
सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्ने भन्दै उनले ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्ने बताए ।