काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनमा पूर्णरूपमा सहयोग गर्ने निष्कर्ष निकालेका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच निर्दोष नफस्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने सहमति भएको हो ।
छलफलपछि प्रधानमन्त्री प्रचण्डले पछिल्लो घटनाका दोषी कोही नउम्कियोस् र निर्दोष कोही नपरोस् भन्नेमा एकमत रहेको बताए । उनले प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेबारे मात्र छलफल भएको पनि बताए ।
त्यस्तै, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको बाटोमा अघि बढेको भन्दै राष्ट्रको अपमान गर्ने र स्वाभिमान गिराउने जोसुकैविरुद्ध कडा कारबाही हुने बताए । उनले केही दिनअघि केपी ओलीसँग भएको भेटमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनका लागि सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको बताए ।