काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ । आज पत्रकार सम्मेलन गर्दै नाउपाका नेता लक्ष्मण थारु (चौधरी)ले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएका हुन् ।
उनले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरेको भन्दै आपत्ति जनाए ।
उनले सरकारलाई बुझाएको लाल आयोग, देवीलाल शर्माको प्रतिवेदन सरकारले किन सार्वजनिक नगरेर रोकेको हो भन्दै प्रश्न गरे । उनले रेशम चौधरीले थारुहरुको अधिकारका लागि लडेकाले उनी निर्दोष भएको बताए । उनले हाम्रो अबको आन्दोलन पनि शान्तिपूर्ण हुने बताए ।
जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो । वि.सं. २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको मंगलबारको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो।
यसको विरोधमा नागरिक उन्मुक्तिले तीनदिन भित्र माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । उनले सर्वोच्च अदालतप्रति कुनै गुनासो नभएपनि सरकारप्रति गुनासो भएको उल्लेख गरे ।