काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार नभएको दावी गरेका छन् । सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यो आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्दै कसैले उजुरी गरेर छानबिन भएर भ्रष्टाचार प्रमाणित भए जेल जान तयार रहेको बताएका छन् ।
क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गर्दै उनले राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडिओबारे प्रश्न सोधेका थिए । उनले प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिएका थिए ।
शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले भने ‘म बडो जोड दिएर भन्न चाहन्छु, यो आरोपका लागि लगाइएको आरोप मात्र, शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाबकिताबको रेकर्ड राखिएको छ ।’
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले समेत अडिट रुजु गरेको दाहालले बताएका छन् ।