काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालीलाई नक्कली शरणार्थी बनाइ विदेश पठाउन खोज्नु राज्यका बिरुद्धको घात भएको उल्लेख गर्दै यस्ता घटनाप्रति राज्य सशक्त भएर काम गर्न आवश्यक रहेको बताए ।
उनले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिनेगरी छानबिन हुन जरुरी रहेको उल्लेख गरे । उनले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सिसिटिभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न माग गरे । उनले समाजमा नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगर्न चेतावनी दिए ।
महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताए । उनले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताए । उनले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमित उठ्ने गरेको तर अहिले राजस्व नै उठ्न नसक्नुको कारण माग गरे । उनले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको दाबी गरे ।