नीति तथा कार्यक्रम बहुमतले पास भए पनि उपलब्धिविहीन हुनेछः राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रमले समस्या र प्राथमिकता प्रष्ट नपारेको बताएका छन् । सोमबार नीति तथा कार्यक्रममाथि भाग लिँदै अहिलेको समस्या समाधान गर्न नसकेको लिङ्देनले बताएका हुन् ।

नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गर्छौं भन्ने कुरा आउनुपर्ने भए पनि नआएको टिप्पणी गरे।

बहुमतका आधारमा नीति तथा कार्यक्रम पास भए पनि कुनै उपलब्धि नहुने उनको भनाई छ। ‘देश तपाईंको मात्र होइन, सरकारमा बस्नेको मात्र होइन। यो देश बिग्रिँदा खेरी तपाईंको मात्र बिग्रिँदैन। सरकारमा बस्नेको मात्र बिग्रिँदैन। देश हाम्रो मात्र बिग्रँदैन भावी सन्तति र आउने युवाको पुस्ताको भविश्य बिग्रन्छ।’ लिङ्देनले थपे, ‘यो हामी सबैको साझा विषय हो। त्यसकारण नमिलेको विषयहरु फेरि लेखेर ल्याउनुपर्दा अफ्ठ्यारो मान्नु हुँदैन। यसलाई पुर्नलेखन गर्न जरुरी छ।’

उनले नीति तथा कार्यक्रममा जनयुद्ध लेखायौं,  देउवालाई बोकायौं भनेर आत्मरतिमा रमाए पनि जनताको जीवनस्तरमा कुनै फरक नपर्ने बताए। लिङ्देनले भने,‘देशलाई कसरी अगाडि लैजाने र कुन बाटोबाट कता जाँदैछौं भन्ने कुराको मार्ग चित्र छैन ।’


Published :८ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media