काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले वल्लतल्ल पूर्णता पाएको छ । मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसपाबाट यसअघि अशोककुमार राई शिक्षा मन्त्री भएका थिए ।
दाहाल प्रधानमन्त्री भएको ६ महिनामा ११ पटकको मन्त्रिपरिषद विस्तारपछि २५ सदस्यीय भएको छ । नवनियुक्त मन्त्रीको सपथ भोली १० बजे हुने बताइएको छ ।
सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।