प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख एजेण्डा हवाई रुट

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा यसपटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग हवाई रुटको प्रस्तावमा जोड दिने तयारी भएको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भ्रमणका क्रममा उठाइने एजेन्डाको गृहकार्य भइरहेको र त्यसमध्ये हवाई रुट प्राथमिकतामा पर्नेछ ।

नेपालले पटक–पटक यस विषय उठाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन। यस्तै १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), सीमा समस्या ई–वालेटलगायत विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परेका छन्।

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  जेठ १७ गतदेखि २० गतेसम्म भारतको भ्रमण गर्ने तयारी भइरहेको छ । मन्त्रालयले  भने औपचारिक घोषणा गरेको छैन । परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, भारतमा भएको नेपाली राजदूतावास भ्रमणको तयारीमा जुटेका छन् । परराष्ट्र मन्त्रीमा एनपी साउद नियुक्त भए सँगै भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणका लागि निमन्त्रणा दिएको थियो ।

दाहालले दोस्रोपटक विश्वासको मत लिएपछि भारत भ्रमण गर्ने आफ्नो इच्छालाई तीव्रता देखाएका थिए ।


Published :१२ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media