काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन् ।
शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने बताए । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकीर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे । उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।