गगनलाई देउवाको जवाफ- “कसैको विरोध गर्दैमा पार्टी बलियो बन्दैन”

राष्ट्रपाटी न्युज

२० जेष्ठ २०८०

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको भनाइलाई लक्षित गरेर जवाफ फर्काएका छन् । शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने समेत बताए ।

केही दिनअघि महामन्त्री थापाले आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै सभापति शेरबहादुर देउवा पनि यसका लागि तयार हो ? भनेर प्रश्नसमेत गरेका थिए । शुक्रबार मात्र एक कार्यक्रममा थापाले आममाफी, नागरिकता विधेयक प्रमाणीकरण सभापतिका एकल सहमतिका निर्णय भएको बताएका थिए ।

त्यसैको जवाफ स्वरुप कसैको नाम नलिइ देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताए । आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए ।

उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए । उनले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको दाबी गरे ।

उनले भने, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनाउन सकिने बताए ।


Published :२० जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media