काठमाडौं । निर्माण व्यवसायीहरुले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमतिअनुसार सबै आयोजनाहरुको म्याद थप यही असार ४ गतेभित्र नभए आफूहरु निर्माण कार्य नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले विगत लामो समयदेखि आफूहरुले राख्दै आएको सो माग पूरा हुने गरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै आपत्ति जनाए ।
अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरुको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढन सरकारलाई फेरि पनि खवरदारी गर्नु परेको बताए । महासंघले निर्माण व्यवसायीहरुको माग सम्बोधन अव पनि नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने पनि जनाएको छ ।
महासंघले नेपाल सरकारलाई आर्थिक भारलाई बढ्न नदिन र आयोजनाहरु अलपत्र हुने अवस्था आउन नदिन पनि निर्माण व्यवसायीहरुको सो माग सम्बोधन गर्न गम्भिर ध्यानाकर्षण गराउनुपरेको बताएको छ ।