चर्च ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन

राष्ट्रपाटी न्युज

जेष्ठ २२, २०८०

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको क्लब चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै च्याम्पियन बनेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबसँग गोलविहीन बराबरी खेलेसँगै नवप्रवेशी चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन बन्यो ।

गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाइज शीर्ष लिगमा आइपुगेको थियो। चर्च ब्वाइज ७७ सालमा ‘सी’ डिभिजनमा छनोट भएर सोही सिजन च्याम्पियन बनेको थियो ।

त्यसपछि ‘बी’ डिभिजन च्याम्पियन हुँदै शीर्ष स्थानमा आइपुगेको चर्च ब्वाइज शीर्ष लिग जित्ने १६औं टिम बनेको छ ।

यसअघि २०७९ र २०७८ सालमा मछिन्द्र फुटबल क्लब लगातार दुई पटक च्याम्पियन बनेको थियो ।

जारी सिजन दोस्रो स्थानको मछिन्द्र च्याम्पियन चर्च ब्वाइजभन्दा ६ अंकले पछाडि छ । यद्यपि, मछिन्द्रले दुई खेल कम खेलेको छ। तर, दुई खेल बाँकी भए पनि हेड टू हेडमा चर्च ब्वाइज च्याम्पियन बनिसकेको छ। चर्च ब्वाइजले २५ चरण सकिँदा १२ जित, ९ बराबरी र चार खेलमा पराजय भोगेको छ ।

बराबरीसँगै थ्री स्टार २५ खेलबाट २९ अंक जोडेर १२औं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट जोगिन थ्री स्टार अझै संघर्षरत छ ।

आजै भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबलले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै, एफसी खुमलटारले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ ले पराजित गरेको छ ।


Published :जेष्ठ २२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media