सुदूरपश्चिमको नीति तथा कार्यक्रममाथि प्रतिपक्षीको विरोध, बचाउ गर्दै सत्तापक्ष 

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल शुरु भएको छ । प्रदेश सभामा शुक्रबारबाट शुरु भएको छलफलमा सत्तापक्ष बचाउमा उत्रिएका छन भने प्रतिपक्षी दल कडा रुपमा प्रस्तुत भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सरकारले ल्याएको नीति कार्यक्रममा दीर्घकालिन योजनाहरु समेट्न नसकिएको बताए । उनले नीति तथा कार्यक्रममा सोच परिवर्तन हुन नसकेको र संकुचन रहेको बताए । उनले नीति तथा कार्यक्रम चुनावी नाराजस्तै बनेको बताए ।

उनले सरकारलाई व्यक्तिमुखी र आत्ममुखी नबन्न सुझाव दिए । उनले चुरेजस्तो संवेदनशिल क्षेत्रलाई संरक्षण गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले सरकारको बजेट बालुवामा पानी हालेको जस्तै नीति तथा कार्यक्रम आएको बताए ।

स्वतन्त्र प्रदेशसभा सदस्य तथा प्रतिपक्षी नेता तारा जोशीले अनावश्यक खर्चमा रोक लगाउने गरी नीति तथा कार्यक्रम बन्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रमको दस्तावेज चार वर्ष अगाडि ल्याइएको जस्तै रहेको बताउँदै भने, ‘नीति तथा कार्यक्रम हिजोको निरन्तरता भयो । सारमा परिवर्तन छैन । यसले के परिणाम दिन्छ । कर्मकाण्ड जस्तै भयो । त्यहि बाटो हिडेर कसरी गन्तव्यमा पुगिन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टले सरकारले स्वास्थ्य र शिक्षामा प्राथमिकता भने पनि ठोस योजना दिन नसकेको बताए । उनले एकल महिलाका छोराछोरीलाई पनि विद्यालयमा छात्रवृतिको व्यवस्था गरिनुपर्ने माग अघि बढाए । उनले गोदावरी क्षेत्र धार्मिक तथा पर्यटकिय क्षेत्र भएकाले सरकारले त्यसको विकासका लागि बजेटको व्यवस्थापन गर्नुपर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले प्राविधिक र व्यवहारिक शिक्षामा सरकारले जोड दिनुपर्ने बताए । उनले अहिले पनि ग्रामिण र शहरबिचको खाडल कायम रहेको बताए । उनले नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउँदै भने -‘यसलाई कागजमै सिमित राख्नुभन्दा कार्यान्वयन जाने गरि बजेट ल्याउनुपर्छ ।’

नेकपा एकीककृत समाजवादी पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आफनो अधिकार क्षेत्रलाई पहिचान गरि कार्यक्रम बनाउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले नीति तथा कार्यक्रम उपयुक्त रहेको बताए । उजले एक जिल्ला एक उद्योग भन्दा एक निर्वाचन क्षेत्र एक उद्योग निर्माण गर्ने गरी कार्यक्रम बनाउन सुझाव दिए ।

नेपाली काँग्रेसका नेता मेखराज खडकाले नीति तथा कार्यक्रमले थुप्रै क्षेत्रलाई समेटिएको भन्दै सरकारको बचाउ गरे ।

उनले वर्षा मौसम शुरु भइरहेकाले सरकारले बाढी, पहिरो तथा डुवानतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।


Published :२७ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media