काठमाडौँ । बाढीमा परी बेपत्ता भएका पाँचथरका दुई जनाको शव फेला परेको छ । हिलिहाङ गाँउपालिका -७ की एलिसा माझी र फिदिम नगरपालिका- १० का संजोग लिम्बूको शब फेला परेको प्रहरीले जनाएको छ ।
माझीको शव धनकुटाको छथर गाँउपालिका ४ तेलियास्थित तमोर नदीको किनामा फेला परेको हो । लिम्बूको शब तुम्बेवा गाँउपालिका ५ लोलिपा दोभान स्थित तमोर नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए ।
माझी हिलिहाङ ७ माझिटारमा हेंवा खोला र तमोर नदीको दोभान नजिकै बोतल हाउस होटल सञ्चालन गर्दै आएकी थिइन् । लिम्बू फिदिम ११ स्थित माउण्टेल जलविद्युत् आयोजनामा सुरक्षा कार्डको रुपमा कार्यरत थिए ।
बाढीमा बेपत्ता भएका दुइ जनाको शव फेला परेसँगै पाँचथरमा बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बाढीमा परी बेपत्ता भएका पाँच जनामध्ये तीन जना अझै बेपत्ता छन् ।