काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा. राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताएका हुन् । उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रश्ताव लैजान माग गरे ।
उनले सुझावसहित बजेट संशोधनको प्रश्ताव कार्यान्वयन भएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको बताए । उनले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे ।
उनले सरकारले सांसदहरुका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरुलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह गरे । उनले मधेस प्रदेशभन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट विनियोजन भएको भन्दै जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा बजेट निर्धारण गर्ने गरी संशोधन हुनुपर्ने बताए ।