भारतको संसदमा राखिएको नक्साबारे प्रतिवेदन पठाउन परराष्ट्रमन्त्री साउदको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतले संसद भवनमा राखिएको नक्साबारे प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित राजदूतावासलाई निर्देशन दिएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले नक्साबारे भारतीय पक्षसँग बुझेर प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिइसकिएको बताएका हुन् ।

मन्त्री साउदले नवनिर्मित भारतीय संसद भवनमा राखिएको नक्सा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको क्याप्सनमा लेखिएको बारे पनि समितिलाई जानकारी गराएका थिए ।

भारतीय संसद भवनमा राखिएको नक्साबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले नेपालको अन्तराष्ट्रिय सीमाबारे समिति, समितिका सदस्य, सरकार सबै स्पष्ट र दृढ रहेको पनि बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त नक्साबारे भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताका बारेमा पनि प्रष्ट पारेका थिए । मन्त्री साउदले नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तराष्ट्रिय सिमानामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।


Published :५ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media