काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका सुकुमबासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मुलवासी नेवारहरु रहेका भन्दै उनीहरुलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन् । उनले भूमिहिनहरुलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भुमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि बताइन् ।
उनले सहकारी पीडितहरु आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताइन् । उनले गरिब घर, परिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि जानकारी गराइन् ।
उनले सहकारी संस्थाहरुलाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडि बढेको बताइन् ।