काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले बताए ।
न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो ।
आज भएको बहसमा प्रतिवादीका तर्फबाट हरिहर दाहाल, रमण श्रेष्ठ, सुशील पन्त लगायत एक दर्जनभन्दा बढी वकिलहरुले बहस गर्नुभएको थियो । पक्राउ परेकामध्ये तीन जना सर्वोच्चको स्टे अर्डरका आधारमा छुटेको हुँदा अरुको हकमा पनि यही लागू हुनुपर्ने माग गरेका थिए । ४ जनासँग सर्वोच्चको निषेधाज्ञा नभएकाले मुद्दाको अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अनुमति दिइएको हो ।
प्रहरीले ७ जनालाई पक्राउ गरे पनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।
प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।