काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा करवृद्धि गरिएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । मन्त्री महतले सांसदहरुले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताए पनि सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको बताए ।
अर्थमन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्ता भए बमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको बताए । उनले मुलुकभित्र हुनेखाने हैसियत बनाएको वर्गलाई लक्षित गरेर केही वस्तु तथा सेवामा कर लगाएको जिकिर गरे । उनले सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने बताए ।
मन्त्री महतले न्युन वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको दाबी गरे । उनले सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरुले भने पनि बजेट सन्तुलन कायम भएर आएको बताए । उनले सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको बताए ।
उनले विलासिता कर पाँच तारे होटल वा सो स्तरको रिसोर्ट, १० लाख भन्दा बढी हिरामोती खरिद गर्ने र ५० लाखभन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको भन्दै यो व्यवस्थाले गरिबलाई नछुने बताए ।
उनले सरकारले आलु प्याजमा कर मुलुकभित्रै उत्पादन वृद्धि गरी साना–साना किसानहरुलाई प्रोत्साहन दिने उद्देश्यले लगाएको बताए । उनले नेपालका साना किसानहरु नै गरिब भएको भन्दै उनीहरुको उत्पादनले बजार पाउनुपर्ने बताए ।