काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने दाबी गरेको छ । देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हालः काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरुमा ३६ हजार ३ सय ५६ क्वीन्टल खाद्यान्न मौजाद छ । त्यस्तै अति दुर्गम तथा दुर्गम जिल्लाहरूमा २५ हजार ५ सय ५ क्वीन्टल खाद्यान्द मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तथ्यांक छ ।
प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ। हालः २६ हजार ३ सय ७५ क्वीन्टल धान मौजाद छ।
भारतबाट आयात कोटा अन्तरगत साल्ट ट्रेडिङ मार्फत तत्काल ३४ हजार ३ सय २० क्वीन्टल गहुँ तत्काल प्राप्त हुने छ। यसो गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कूल २ लाख ६६ हजार ३ सय क्वीन्टल खाद्यन्न मौजाद रहनेछ। हालः खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार १०० क्वीन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाइएको छ।
चालु आर्थक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लामा १७ हजार ८ सय ३० मेट्रिक टन खाद्यन्न ढुवानी भएको छ। बढी खाद्यान्न समस्या देखिएको हुम्लामा ४ हजार क्वीन्टल कोटा थप गरी हवाइ मार्गबाट दैनिक ढुवानी भइ वितरण भइरहेको छ।
बझाङमा पनि १ हजार क्वीन्टल कोटा थप गरिएको छ। पूर्वी जिल्लामा पनि पर्याप्त खाद्यन्न मौजाद रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्पष्ट पारेको छ। पालिका स्तरमा भने खाद्यान्न सञ्चिती गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा बिक्री केन्द्रहरुमा खाद्यान्न ढुवानी गरेर विरतण भइरहेको कम्पनीले जनाएको छ।