कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग लामिछानेले सत्ता परीवर्तनको चर्चा बाहिर धेरै रहे पनि रास्वपा त्यसको पक्षमा नरहेको बताए ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा वडा स्तरसम्म संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरे । सत्ता फेरबदल हुने चर्चा चलेको कुरा आफूले पनि सुनेको बताउँदै उनले रास्वपा अहिले संगठन विस्तारको क्रममा रहेकाले त्यो रेसमा नरहेको बताए ।
सत्ता फेरबदलबारे सुने पनि आफु कुनै बैठकमा नगएको बताउँदै उनले मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने बताए ।
अहिले सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप उनले लगाए । अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनले बताए ।
सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेटलाई सत्ता र प्रतिपक्ष दुबैले बिरोध गरेको बताउँदै उनले सरकारले ल्याएको बजेट साना व्यवसायी, लघुवित्त पीडित, दैनिक जिविका चलाउने नागरीक कसैको पक्षमा नरहेको बताए । उनले सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर सच्याउनुपर्ने बताए ।
धनगढी विमानस्थलमा पत्रकारले सागर ढकाललाई भित्र्याउने तयारीमा हो ? भन्दै राखेको जिज्ञाशामा रास्वपाका सभापति लामिछानेले सागर ढकाल आफ्नो पार्टीभन्दा बाहिर नरहेको दाबी गरेका छन् । गत मंसिरमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकाल रास्वपाभन्दा बाहिर नरहेको दाबी गरेका हुन् ।