काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अब मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताए ।
अहिलेको आश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उनले बताए । उनले आफू फेरि पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गरे ।
थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सबैलाई जानकारी हुने भन्दै उनले एकपटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सबै दलले रोक्न सक्नुपर्ने तर्क गरे ।
उनले अहिले सबै दलहरूले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रित गर्नुपर्ने बताए । देशका सबै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहनाअनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उनको भनाइ छ । थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्रलगायत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरुलाई एक वर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने बताए ।