विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ नहुने भएको छ । प्रारम्भिक सुनुवाईका लागि रिटको पेशी न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो ।
न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा अरू मुद्दाको सुनुवाइ गरेका न्यायाधीश भट्टराईले कोशी सरकारविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’सूचीमा राखेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले रिटको पेशी आजलाई तोकिए पनि न्यायाधीश भट्टराई अर्को इजलासमा व्यस्त भएपछि कोसी सरकारविरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा राखिएको जानकारी दिए ।
कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले रिट दिएका हुन् । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ।