काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् ।
सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
उनका अनुसार भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे ।
सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझा मञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सबलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।
जवाफमा राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएकोमा खुसी व्यक्त गरे । उनले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्त गरे ।